
Introduction
परिचय
विशाल बजार कम्पनी लिमिटेड कम्पनी ऐन,२०६३ (तत्कालीन कम्पनी ऐन,२०२१) अन्तर्गत वाणिज्य विभागमा मिति २०२६/०४/१४ तथा उद्योग विभागमा मिति २०२६/०४/२७ मा दर्ता भई वि.सं.२०२६ साल देखि सञ्चालनमा आएको हो । यसको रजिष्टर्ड कार्याल काठमाण्डौं महानगरपालिका वडा नं.२४ शुक्रपथ, काठमाडौँ मा रहेको छ । विशाल बजार भवनको शिलान्यास २०२६ जेठ २९ मा भएको थियो ।
तत्कालीन राजा महेन्द्रले विदेश जाँदा ठूला डिपार्टमेन्टल स्टोर देखेपछि नेपालमा पनि एकै ठाउँमा आधुनिक भवनमा किनमेल गर्न सहज होस् र व्यावसायिक गतिविधि बढोस् भनेर विशाल बजार स्थापना गर्न लगाएका थिए । २०२६ सालमा प्रधानमन्त्री सूर्यबहादुर थापा, राजदरबारका सचिव इन्द्रमणि राजभण्डारी र व्यवसायी जुद्धबहादुर श्रेष्ठलाई बोलाएर एउटा सुसङ्गठित बजार स्थापना गर्ने इच्छा व्यक्त गरेपछि बागमती अञ्चलाधीश विष्णुमणि आचार्य, जुद्धबहादुर श्रेष्ठ र इन्द्रमणि राजभण्डारी सम्मिलित टोलीले सुरुमा अञ्चलाधीश नै सञ्चालक समितिका अध्यक्ष वा सञ्चालक हुनेगरि प्रबन्ध पत्र नियमावली बनाएको थियो । त्यतिबेला यसमा सबै लगानी गर्ने हैसियत र तत्परता निजी क्षेत्रको नभएकाले केही सरकारी संस्थानहरूलाई पनि लगानी गर्न लगाइएको थियो ।
स्थापना कालमा यसको मुख्य उद्देश्य जनतालाई दैनिक उपभोगको लागि आवश्यक खाद्य पदार्थ, लत्ता कपडा, औषधि, जडीबुटी, मनोरन्जनका सामान र कृषि तथा औद्योगिक मेशिनहरु औजार तथा सामानहरु आफै उत्पादन गरी वा विदेशबाट पैठारी गरी थोक वा खुद्रा विक्री गर्ने र त्यस्ता सामानहरु विदेश निकासी गर्ने, तथा त्यस्ता सामानका उत्पादकलाई सहयोग दिई घरेलु उद्योगलाई प्रोत्साहन दिंदै स्वदेशी उद्योगलाई बढाउने समेतकव व्यापार र उद्योग व्यवसायको काम हुने थियो । हाल यसको उद्देश्य नेपाल कानुनको अधिनमा रही घर, पसल/कवल, जमिन आदि भाडामा लिने, दिने लगायत फ्याक्ट्री, भवन, बंगला, गोदाम, टहरा, कार्यालय, पसल, ग्यारेज, वर्कशप आदीको कारोवार गर्ने र ग्राहकवर्गलाई बिभिन्न सुविधा दिई आधुनिक कम्प्लेक्सको रुपमा विकास गर्ने रहेको छ । नेपालको पहिलो आधुनिक सपिङ कम्प्लेक्स अर्थात सुपरमार्केट संस्कृतिको विकाश विशाल बजार कम्पनी लिमिटेड को स्थापना पछि शुरु भएको हो । लिफ्ट सहितको आधुनिक सङ्गठित बजारको रुपमा विशाल बजार खुलेपछि मध्यम तथा उच्च वर्गका उपभोक्ताको ध्यान यसले खिचेको देखिन्छ ।
विधिवत् रुपमा कम्पनी दर्ता भएपछि तत्कालीन उद्योग बाणिज्य मन्त्रालयबाट २०२६ वैशाख १९ गते नेपाल राजपत्र र गोरखापत्रमा सूचना प्रकाशित गरी बजार स्थापनाका लागि जग्गा प्राप्ति ऐन, २०१८ अनुसार जग्गा अधिग्रहणको माध्यमबाट खरिद भएको थियो ।
विशाल बजार भवन शिलान्यास २०२६ जेठ २९ मा भएतापनि विभिन्न कारणले सेयर बिक्रीबाट पर्याप्त पुँजी सङ्कलन हुन नसकेकोले भवन निर्माणमा ढिलाइ भएपछि नेपाल सरकारको स्वामित्वमा रहेका विभिन्न सार्वजनिक संस्थानहरुको संलग्नतामा यसको निर्माण कार्य सम्पन्न भएको थियो । सो वापतको रकम पछि ती संस्थानहरुको नाममा सेयरमा परिणत गरिएको थियो ।
कम्पनीको स्थापना गर्दा संस्थागत रुपमा १ र व्यक्तिगत रुपमा ९ जना संस्थापकबाट अधिकृत पुँजी १ करोड रहेको थियो । संस्थापकहरूले २४ लाख ५० हजार कबुल गरेकोमा २२ लाख ३० हजार मात्र सङ्कलन भएको थियो ।पछिल्लो पटक सर्वोच्च अदालतबाट मिति२०६७/०५/१४ मा नेपाल सरकारका नाममा जारी भएको निर्देशनात्मक आदेश र मिति २०७२/०२/२६ को अन्तिम फैसलाको आधारमा नेपाल सरकार (म.प.) आर्थिक तथा पुर्वाधार समितिको निर्णय अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयको मिति २०७४/०६/१०को पत्रबाट कम्पनीको अधिकृत, जारी र चुक्ता पूंजी रु.४ अरव १ करोड को ४ करोड १ लाख कित्ता शेयर मध्ये ९८.७५ प्रतिशत शेयर नेपाल सरकार, अर्थ मन्त्रालयको नाममा कायम भएपछि विशाल वजार कम्पनी लिमिटेड नेपाल सरकारको अधिकांश स्वामित्वमा सञ्चालित सङ्गठित संस्था हुन गएको छ ।
दीर्घकालीन सोंच
सर्वसाधारण जनतालाई गास, वास, कपास तथा जनउपयोगी अत्याबश्यकीय उपभोग्य वस्तुहरुको सहज र सुलभ आपुर्तिका लागि सक्षम सुपरमार्केट बजारको रुपमा स्थापित हुने ।
परिलक्ष्य
सर्वसाधारण जनतालाई गास, वास, कपास तथा जनउपयोगी अत्याबश्यकीय उपभोग्य वस्तुहरुको सहज र सुलभ आपुर्तिका लागि सुपरमार्केटको सिद्धान्तमा आधारित सहज, स्वच्छ र प्रतिस्पर्धात्मक बजारको वातावरण सृजना गर्न एक सक्षम व्यवसायिक संस्थाको रुपमा स्थापित हुने ।
उद्देश्यहरु
नेपाल कानुनको अधिनमा रही घर, पसल/कवल, जमिन आदि भाडामा लिने, दिने लगायत फ्याक्ट्री, भवन, बंगला, गोदाम, टहरा, कार्यालय, पसल, ग्यारेज, वर्कशप आदीको कारोवार गर्ने र ग्राहकवर्गलाई बिभिन्न सुविधा दिई आधुनिक कम्प्लेक्सको रुपमा विकास गर्ने रहेको छ ।
कार्यहरु
(क) कम्पनीलाई आवश्यक पर्ने जग्गा/ भवन/संरचना/सवारी साधन/अन्य आवश्यक उपकरणलाई निर्माण तथा खरिद गर्ने र विक्री वितरण वा भाडामा दिने । (ख) कम्पनीलाई आवश्यक पर्ने विनियमावली तथा कार्यविधि तयार गर्ने र कर्मचारीको व्यवस्थापन गर्ने । (ग) कम्पनीको नाममा बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने र त्यहां बैंकिङ्ग कारोवार गर्ने । (घ) कम्पनीको नामबाट शेयर, डिबेन्चर तथा म्युचुयल फण्ड खरिद तथा विक्री गर्ने । (ङ) कम्पनीले नियमानुसार स्वदेशी तथा विदेशी कम्पनी, फर्म तथा व्यक्तिसंग सहकार्यको लागी सम्झौता गर्ने। (च) कम्पनीको सम्पत्तिको सुरक्षाका लागि वीमा गराउन सक्ने । (छ) कम्पनीको उद्देश्य हासिल गर्न अन्य आवश्यक कार्यहरु गर्ने ।